साउनमा मात्रै १७ संक्रमितको मृत्य



काठमाडौं, साउन २०। नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । १ साउनयता मात्रै १७ संक्रमितको मृत्यु भएको तथ्यांक छ । तीमध्ये ६ जनाले खोप लगाएका थिएनन् भने अर्का एकले ‘एक डोज’ मात्र लिएको पाइएको छ ।

एउटा मात्रै खोप लगाएकोमा क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट ग्रस्त थिए । अहिले संक्रमणका कारण स्वास्थ्य जटिलता भएर सघन उपचार गराउनेको संख्यासमेत बढ्दै गएको छ । सघन उपचार पाइरहेकामध्ये धेरैजसो दीर्घरोगी रहेको चिकित्सकले बताएका छन् ।

गत २१ वैशाखदेखि ७३ दिनसम्म कोरोना मृत्यु शून्य रहेकामा १ र २ साउनमा कोभिड निमोनियाका कारण एक जनाको धरान र एकको काठमाडौंमा मृत्यु भएको थियो। यसपछि दैनिकजसो कोभिड–१९ संक्रमितको मृत्यु हुने दर बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार खोप नलगाएकामा कडाखाले कोभिड संक्रमण देखिएको छ । मध्यम वा कडा लक्षण देखिए पनि त्यस्ता व्यक्ति केही दिनमै निको हुने गरेका छन् । खोप लगाएकाका हकमा मध्यमखाले कोरोनाको सामान्य लक्षण मात्रै देखिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्