रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने, रक्सि खाएकाले यात्रा गर्न नपाउने



काठमाडौं, साउन २१। सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९’ अनुसार चालक तथा सहचालकको उमेर २१ वर्ष पूरा भई ४० ननाघेको हुनुपर्नेछ ।

चालक–सहचालक बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा ‘डिप्लोमा उत्तीर्ण र रेल चलाउन योग्यताको प्रमाणपत्र प्राप्त’ हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

सरकारले सुरुमा रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने व्यवस्था गरे पनि संशोधन गरिएको हो ।

विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त व्यक्तिका लागि पनि कानुनी व्यवस्था गरिएको छ । ऐनअनुसार विदेशी राष्ट्रबाट अनुमतिपत्र प्राप्त भए, त्यस्ता व्यक्तिले रेल चलाउन आवश्यक कागजी प्रक्रिया पूरा गरी निवेदन दिएमा आवश्यक दस्तुर लिई ऐनबमोजिम अनुपति पत्र दिन सक्नेछन् ।

मादक पदार्थ सेवन गर्नेले रेलयात्रा गर्न नपाइने भएको छ । ऐनको दफा २४ मा ‘यात्राका लागि इन्कार गर्न सकिने’ व्यवस्था गरिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्