रासायनिक मलको बोराभित्र ढुङ्गा र इट्टा भेटियो



कपिलवस्तु,साउन २१ । रासायनिक मलको बोराभित्र ढुङ्गा र इट्टा भेटिएको छ । कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको हो । नगरपालिकाको वडा ५ मा रहेको रामनारायण कृषि सहकारीबाट खरिद गरिएको मलमा इँटा र ढुङ्गा फेलापरेको स्थानीयले बताएका छन् । 

कृषक राजाबाबु लोनियाले खरिद गरेको ५० केजी मलको बोरा खोल्दा ती बस्तु भेटिएको उनले बताए । सहकारीले अवैध रुपमा नेपाल भित्र्याएको भारतीय मल बिक्री गरिरहेको छ । सरकारीले अनुदानमा मल बिक्री गर्नुको सट्टा राजस्व छली गरेर मल बिक्री गरेकाले शंकास्पद रहेको स्थानीय राज गुप्ताले बताए । 

मल पाउन कृषकलाई सकस भइरहेकाबेला यसरी बोरामा इँटा र ढुङ्गा भेटिनुलाई सहकारीप्रति शङ्का उत्पन्न भएको किसानको भनाइ छ । सहकारीका सञ्चालक शिवसरण जयसवालले सहकारीमा मल सकिएकाले सुरज गल्ला भण्डारबाट मल ल्याएको बताए । 

प्रतिक्रिया दिनुहोस्