ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई चीनले दियो स्काभेटर



ताप्लेजुङ,साउन २१ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्‍याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्‍याइएको गाउँपालिकाले जनाएको छ ।

स्काभेटर एक करोड ३५ लाख रुपैयाँ बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए । उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क २५ लाख रुपैयाँ नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताए। स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ । निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्