५ महीना अगावै जरेखोला मोटरेबल पुल सम्पन्न



पर्वत,साउन २३ । पर्वतको कुश्मा नगरपालिकामा निर्माणाधीन मोटरबेल पुल तोकिएको समयअघि नै सम्पन्न भएको छ । मुलुकमा अधिकांश विकास निर्माणका काम तोकिएको समयमा समेत सम्पन्न नहुने अवस्थामा कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवा र वडा नम्बर १४ आर्थर डाँडाखर्क जोड्ने मोटरेबल पुल तोकिएको समयभन्दा पाँच महीना अगाडि नै सम्पन्न भएको हो ।

दोबिल्ला–पकुवा–गङगटे–आर्थर सडक खण्डमा पर्ने जहरे खोला पुल र नजिकै रहेको अर्को कल्भर्टको निर्माण तोकिएको मिति भन्दा अगावै सम्पन्न भएको हो  ।  पूर्वाधार विकास कार्यालय पर्वतको आर्थिक सहयोगमा निर्माण भएको पुलले स्थानीयको आवतजावतमा सहजता ल्याएको छ ।

सागर निर्माण, नेशनल स्ट्रक्चर र कस्तुरी जेभीबीच निर्माण सम्झौता भएको पुलको १३ महीनामै सम्पन्न भएको पूर्वाधार कार्यालय पर्वतले जानकारी दिएको छ । पुल निर्माणका लागि २०७८ जेठ २७ मा सम्झौता गरिएको थियो । १८ महीनामा निर्माण कार्य सक्ने गरी ठेक्का सम्झौता भएको पुल पाँच महीनाअघि नै सम्पन्न भएको निर्माण व्यवसायी किसा शर्माले जानकारी दिए । सम्झौता अनुसार उक्त पुल निर्माणको अवधि आगामी मंसिर २७ मा सकिँदै थियो ।

उक्त पुल २० दशमलव ६० मिटर लम्बाइ रहेको छ । एउटा मात्र स्पान रहेको पुलको भारवहन क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालय पर्वतले बताएको छ । कुल २ करोड ९१ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ ।

वर्षायामको शुरुआतमै पुल निर्माणको काम सम्पन्न भएपछि  सवारीसाधन सञ्चालन हुन थालेका छन् । स्थानीयले सहज महसूस गरेको बताएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवा, वडा नम्बर १४ आर्थरडाँडाखर्क, राम्जादेउराली, खौलालाकुरी लगायतका नागरिकलाई सहज भएको छ । वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको सडक अब बाह्रै महीना सञ्चालन हुने अपेक्षा रहेको स्थानीय सुरेन्द्र गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्