आन्तरिक पर्यटकको रोजाइमा दूधेखोलाको कोप्रे झरना



गलेश्वर,साउन २३ । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ ।

असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन थालेका छन् ।  सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो  । 

भकिम्लीको दूधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लो पटक दैनिकजसो पर्यटक पुगेर रमाउने गरेका छन् । स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झण्डै एक सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् । बेनी-बगरफाँट-भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा ससाना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिससमेत पुग्छन् । 

यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनका समयमा भेटिएको झरनाका रूपमा नामकरण गरेका छन् । कतिपय काममा व्यस्त  मानिस  पनि फुर्सत मिलाएर एकैछिन भए पनि कोप्रे झरनामा रमाउन पुग्छन् ।

स्थानीयवासीले जनाएअनुसार कोप्रे छहरामा रमाउन पहिलेदेखि नै मानिस जाने गर्दथे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दूधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रका मानिस पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्थे । 

विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा गत वर्ष र अघिल्लो वर्ष कोरोना भाइरसका कारण जारी निषेधाज्ञाका बीचमा पनि घुम्न जानेको संख्या बढेको थियो । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्द महसुस गरेको आन्तरिक पर्यटक रचना रिजाल बताउँछिन् ।    

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षातका समयमा निकै ठूलो हुने गर्दछ । यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपयले ‘वर्षे झरना’ पनि भन्छन् । भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेका समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । 

पहाडको टुप्पोबाट जमिनतिर एकनाशले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकको भनाइ छ । कोप्रे झरनामा कतिपय पर्यटक टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।

अहिले त्यहाँ म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्लीलगायत क्षेत्रका मानिस त्यहाँ पुग्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटी धेरै जाने गर्छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्