तनहुँमा क्रसर उद्योगीको दादागिरी, दर्ता र मापदण्ड पूरा नगरी उद्योग सञ्चालन



तनहुँ,साउन २३। जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग दर्ताबिनै सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालन भएका १९ क्रसर उद्योगमध्ये १० ओटाले दर्तासमेत गरेका छैनन् । अन्य ९ ओटा दर्ता भए पनि मापदण्ड पूरा गरेका छैनन् । 

क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकाय, अन्तरराष्ट्रिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुई सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ । 

जिल्ला समन्वय समितिका अनुसार दर्ता र मापदण्ड पूरा नगरेका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल विद्युत प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएकाे छ । मापदण्ड पूरा नगरी सञ्चालन गरिएका क्रसर उद्योगको भने नवीकरण रोकिएको समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका नायब सुब्बा नरबहादुर मगरातीले मापदण्डविपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि उद्योगीले अटेर गरेको बताए । 

त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरूमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुई र बन्दिपुरमा एक ओटा छन् । शुक्लागण्डकी–७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुंगा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी–२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्रिगेट एन्ड कंक्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी–५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि छन् । त्यसैगरी, म्याग्दे गाउँपालिका–४ र ५ मा क्रमशः सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्