नुवाकोटका अमित श्रेष्ठविरुद्ध ४८ करोड रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता



काठमाडाैँ,साउन २३ । भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको छ । श्रेष्ठलाई ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ । नेपालमा अवैध रहेको क्रिफ्टो कारोबार गर्ने गरेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको विदुर नगरपालिका–२ स्थायी घर भइ काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई पानीपोखरीबाट पक्राउ गरेको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गरेर कारबाहीका गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । शुरुमा अभद्र व्यवहारमा मुद्दाको प्रक्रिया अगाडी बढाएकोमा पछि अनुसन्धानमा क्रिप्टो करेन्सीमा समेत संलग्न देखिएको जनाएको छ ।

श्रेष्ठबाट बरामद भएका मोबाइल, ल्याटपलगायतका डिभाइसहरु जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको थियो । फरेन्सिक ल्याबले बरामद ती डिभाइसहरुबाट क्रिफ्टो करेन्सीको कारोबार हुने तथ्य फेला परेको रिपोर्ट दिएपछि सोही आधारमा उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

शंकास्पद रकम श्रेष्ठ समेत सदस्य रहेको भाइबर ग्रुप ‘फिटबेला एक्सचेन्ज’ बाट क्रिफ्टो करेन्सी कारोबार हुने गरेको देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । साथै श्रेष्ठसँग रहेको विभिन्न बैंकमा जम्मा भएको रकमको विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा रोयल बैंक अफ क्यानडा, कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा रकम हरको पाइएको छ । सन् २०१९ जुलाई २ देखि सन् २०१९ अगस्ट ८ सम्मको एक महिनाकै अवधिमा रोयल बैंक अफ क्यानडामा १ करोड ९५ लाख ४६ हजार २५२ रुपैयाँ बराबरको डलर श्रेष्ठले जम्मा गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्