राहदानी विभाग अगाडि आत्मदाह प्रयास, संसदमा सरकारको ध्यानाकर्षण



काठमाडौं, असार २५। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राहदानी सेवा प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएका एक अज्ञात पुरुषले आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

उनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै राहदानी सेवामा देखिएको ढिलाइ र नागरिकले भोग्नुपरेका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए। साथै, सेवा प्रवाहलाई प्रभावकारी, सहज र समयमै उपलब्ध गराउनेतर्फ सरकारको विशेष ध्यान जानुपर्ने धारणा राखे।

प्रमुख सचेतक दुलालले नागरिकलाई आधारभूत सरकारी सेवा सहज रूपमा उपलब्ध गराउने दायित्व सरकारको भएकाले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्