फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने नुवाकोटका एक युवक पक्राउ



काठमाडौँ, असार २५ गते । सामाजिक सञ्जाल फेसबुकमा अनधिकृत पहुँच पु¥याई प्रयोगकर्ताको पहिचान दुरुपयोग गर्दै आफन्त वा साथीभाइ बनेर रकम ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्यूरोका अनुसार जिल्ला नुवाकोटको लिखु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्दै आएका १९ वर्षीय विवेक सुनारलाई असार २४ गते पक्राउ गरिएको हो।

ब्यूरोका अनुसार सुनारले फेसबुक खातामा अनधिकृत पहुँच प्राप्त गरी पीडितकै पहिचान प्रयोग गर्दै आफन्त तथा साथीभाइलाई विभिन्न बहाना बनाएर रकम माग्ने र ठगी गर्ने गरेको उजुरीका आधारमा प्राविधिक अनुसन्धान गरिएको थियो।

अनुसन्धानबाट आरोपितको संलग्नता खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्