अर्जेन्टिना–इजिप्ट खेलको रेफ्री विवादमा फिफाको स्पष्टिकरण, निर्णय नियमअनुसार भएको दाबी
एजेन्सी,असार २५ । अर्जेन्टिना र इजिप्टबीच भएको खेलमा रेफ्रीको निर्णयलाई लिएर उठेको विवादबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आफ्नो धारणा सार्वजनिक गर्दै खेलका अधिकारीमाथि कुनै पनि प्रकारको बाह्य दबाब नपरेको स्पष्ट पारेको छ।
फिफाले खेलका क्रममा सर्वाधिक विवादित बनेको पेनाल्टी नदिने निर्णय खेलका प्रचलित नियमअनुसार नै भएको जनाएको छ। साथै, भिडियो सहायक रेफ्री (भीएआर) प्रणाली पनि निर्धारित मापदण्डअनुसार प्रयोग गरिएको भन्दै त्यसप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेको छ।
खेलपछि सामाजिक सञ्जाल र विभिन्न खेल विश्लेषकहरूले रेफ्रीको निर्णयमाथि प्रश्न उठाएका थिए। केहीले भीएआरको प्रयोग प्रभावकारी नभएको आरोपसमेत लगाएका थिए।
तर फिफाले सबै भिडियो दृश्य र प्राविधिक मूल्याङ्कनको समीक्षा गरेपछि रेफ्री टोलीले स्वतन्त्र रूपमा निर्णय गरेको तथा कुनै बाह्य हस्तक्षेप वा दबाबको प्रमाण नभेटिएको निष्कर्ष सार्वजनिक गरेको छ।
फिफाको यो स्पष्टिकरणसँगै अर्जेन्टिना–इजिप्ट खेलसँग सम्बन्धित रेफ्री विवादलाई लिएर उठेका आशंका केही हदसम्म मत्थर हुने अपेक्षा गरिएको छ।

