गतवर्ष सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि



काठमाडौं,साउन २५ । गत आर्थिक वर्ष (आव) २०७८/७९ मा सरकारलाई सबैभन्दा धेरै कर सूर्य नेपाल प्रालिले तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको हो ।

कम्पनीले मूल्य अभिवृद्धिकर, आयकरलगायत सबै किसिमका कर गरी उक्त रकम राज्यलाई तिरेको हो । सूर्य नेपाल सन् १९८६ देखि सञ्चालनमा छ । यसमा भारतीय कम्पनी आईटीसी लिमिटेडको सबैभन्दा धेरै ५९ प्रतिशत शेयर छ । ३९ प्रतिशत शेयर नेपाली कम्पनी र व्यक्तिहरूको छ । २ प्रतिशत शेयर ब्रिटिश–अमेरिकी टोबाको लिमिटेड कम्पनीको छ । सूर्य नेपालले चुरोटसँगै सलाई, अगरबत्ती तथा चकलेट उत्पादन गर्दै आएको छ ।

दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) छ । नेपाल टेलिकम ९१ दशमलव ४९ प्रतिशत सरकारी शेयर रहेको दूरसञ्चार सेवाप्रदायक हो । यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएको थियो । २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीका रूपमा दर्ता भएको थियो । २०६१ वैशाखदेखि यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो । यसले देशभर आधारभूत टेलिफोन पीएसटीएन, जीएसएम र सीडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्छ । नेपाल टेलिकमले गत आव २०७८/८९ मा ९ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको देखिएको छ ।

निजीक्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले तेस्रो नम्बरमा परेको छ । यसले गतवर्ष ७ अर्ब ७९ करोड रुपैयाँ कर तिरेको छ ।

चौथो धेरै कर तिर्नेमा गोर्खा ब्रुअरी प्रालि छ । यसले गोर्खा, काल्र्सबर्ग, सानमिगल, सोमस्र्बी र टुबोर्ग बियर उत्पादन र विक्री गर्दै आएको छ । कम्पनीले गतवर्ष ५ अर्ब ६९ करोड रुपैयाँ कर तिरेको छ । यसमा भ्याट र अग्रिम आयकर समावेश छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरण १ वर्षमा ३ अर्ब ९५ करोड रुपैयाँ कर तिरेर पाँचौं नम्बरमा परेको छ । प्राधिकरणले सरकारी र निजी लगानीका कम्पनीबाट उत्पादित बिजुली किनबेच गर्दै आएको छ । यसले नेपालको बिजुली भारत निकासी र आन्तरिक उत्पादनले नपुगेको बेला भारतबाट आयातसमेत गर्छ । प्राधिकरणले अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौं नम्बरमा परेको थियो ।

आव २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने १० संस्थाको सूचीमा बैंकहरू पनि छन् । एन आई सी एशिया बैंक बढी कर तिर्ने सूचीको छैटौं नम्बरमा छ । गत आवमा यसले ३ अर्ब ४१ करोड कर दाखिला गरेको छ । अघिल्लो आव २०७७/७८ मा एन आई सी एशियाले ३ अर्ब ६१ करोड कर दाखिला गरेको थियो ।

नबिल बैंक गत आवमा ३ अर्ब ३२ करोड कर दाखिला गरेर सातौं नम्बरमा छ । अघिल्लो आव २०७७/७८ मा नबिलले ३ अर्ब ९७ करोड तिरेको थियो । नबिल आव २०७७/७८ मा धेरै कर तिर्ने बैंकको पहिलो नम्बरमै थियो ।

यस्तै, ग्लोबल आइएमई बैंक आठौं सबैभन्दा बढी कर तिर्ने कम्पनी भएको छ । यसले गतवर्ष ३ अर्ब २१ करोड रुपैयाँ राज्यलाई कर तिरेको छ । ग्लोबल आइएमई बैंकलाई सिद्धार्थ बैंकले पछ्याएको छ । सिद्धार्थले गत आवमा २ अर्ब ७७ करोड रुपैयाँ राज्यलाई कर तिरेको छ । दशौं नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ६५ करोड कर तिरेको छ । धेरै कर तिर्नेले ठूला करदाता कार्यालयमा बुझाउँछन् । २०६० माघ १ गते स्थापित ठूला करदाता कार्यालयमा वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने कम्पनीले कर बुझाउने गरेका छन् ।

ठूला करदाता कार्यालयका अनुसार यी कम्पनीले बुझाएको कर रकममा आयकर, मूल्य अभिवृद्धिकर, ब्याजकरलगायत सबै किसिमको कर समावेश छ । आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजु प्याकुरेलले गत आवको अन्त्यसम्म करदाता संख्या करीब ५२ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्