फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल



काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा जाँदै गरेका गाडी तोडफोड गरिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोकेका गाडी तोडफोड गरेर समस्या थप जटिल बनाउन खोजेको देखिएको बताएका छन्। उनले गाडी पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड हुनु फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने षड्यन्त्र भएको जनाएका छन्।

‘फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौं,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौं नागरिक तथा २१ वटा पालिकाको फोहोर अव्यवस्थित र असरल्ल पार्न सकिँदैन।’

उनले फोहोर बोक्ने गाडी तोडफोड गर्नु जघन्य अपराध भएको उल्लेख गर्दै कानुनबमोजिम दोषीलाई कडाभन्दा कडा कारबाही गरिनेसमेत बताएका छन्।

काठमाडौं महानगरपालिका नगर प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले सोमबार राति १४ वटा फोहोरका गाडी, दुईवटा डोजर र एउटा स्काभेटर तोडफोड भएको जानकारी दिए।

उनका अनुसार तोडफोड गर्ने समूह पत्ता नलागेको र खोजीका लागि सुरक्षा निकायलाई पत्राचार गरिएको छ। राजधानीमा थुप्रिएको फोहोरको अवस्थाबारे मंगलबार संसद्मा समेत आवाज उठेको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्