महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध गलकोटमा एमालेको प्रदर्शन



बागलुङ,साउन २६ । नेकपा एमाले गलकोटले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । एमाले संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होईन माफियाको सरकार भन्ने मुल नाराका साथ गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा गठबन्धन सरकारले बढाएको महँगी, भ्रष्टाचार, राष्ट्रघातको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम गरेको नेकपा एमालेले जनाएको छ ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम नेपालीले गठबन्धनरुपी नाग आम नेपाली जनता माँझ लाज पचाएर घुमिरहेको बताएका छन । ५ दलिय गठबन्धनले आफ्नो शक्ति र सत्तालाई जोगाईरहन नेपाली जनताको रगत र पसिनामा खेलिरहेको आरोप लगाए । अहिलेको गठबन्धन भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र यूरोपियन युनियनको टपरी चाटेर देश बेच्ने कुचेष्टामा लागेको र देशको सार्वभौम र स्वाभिमान माथि आँच पुराईरहेको उल्लेख गरे । नेता नेपालीले देशलाई टुक्रा टुक्रा पारी छिन्नभिन्न पारेर नेपाली जनतामाथि आहाल खेलिरहेको भन्दै दलालहरुलाई अब खबरदारी गरिरहने र देश जोगाउनको लागि राष्ट्रभुक्ति र देशभक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । यो सरकारले महँगी दिनका दिन बढाईरहेको सन्दर्भमा गठबन्धन रुपी विदेशीका दलालले चामल, तेल, नुन, चिनी किनेर खानु पर्दैन भन्दै प्रश्न समेत गरे ।

सभामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश समिती सदस्य मञ्जु शर्मा चालिसेले सत्तामा बसेर बाँडीचुँडी खान र नातापातालाई पोस्न सेटिङ मार्फत् सत्ता गठबन्धन बनेको बताईन । सपना नदेखी र सपना नदेखाई देश नबन्ने भन्दै महँगी, भ्रष्टाचार र बेथिती र राष्ट्रघातका विरुद्ध नेकपा एमाले सडकमा उत्रेको उल्लेख गरिन ।

नेतृ चालिसेले गलकोट नगरमा २ तिहाईको नेपाली काँग्रेसको सरकारले जनताको पक्षमा केहि काम गर्न नसकेको र आम नागरिकका समस्या ज्यूँको त्यूँ रहेको बताएकी छन । नगर भित्रको सडक, शिक्षा, स्वास्थ्य जताजतै बेथिती र भ्रष्टाचार मौलाईरहेको भन्दै खबरदारी गर्नुपर्ने उनको धारणा थियो । गलकोट नगरको स्थानिय न्यायपालिका, न्यायिक समितिमा पुरुषवाद हावी रहेको महिलालाई पाखा लगाउने काममा गठबन्धन सरकार तल्लीन रहेको आरोप लगाईन ।

त्यस्तै नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले दक्षिणपन्थी र वामपन्थी शक्ति छुट्टाउनुपर्ने बेला आएको बताएका छन । उनले राजनैतिक बाटो प्रष्ट हुनुपर्ने बताउँदै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादी गठवन्धनको नाममा नेपाली काँग्रेसको लहै लहैमा लागेर अध्याँरो सुरुङ भित्र हाम फालिरहेको बताए । नेता उप्रेतीले अरुको लहैलहैमा लागेर उनीहरुले जे भन्छन त्यहि मानेर गठबन्धनको सरकारले देशलाई भड्खालोमा हाल्न लागेको आरोप समेत लगाए । एसपीपीको सम्झौता गरे अमेरिकन सेना नेपाल आएर नेपाली सेनासँग सहकार्य गर्ने र देशको हितमा काम हुन्छ भनेर भ्रम फैलाईएको र अमेरीकाको विषय विश्वसामु छर्लङ्ग भएको समेत ठोकुवा गरे ।

एमाले कार्यकर्ताहरुको नारा र जुलुश हटिया बजार परिक्रमा गरी जीपपार्कमा आएर कोण सभामा परिणत भएको थियो।

प्रतिक्रिया दिनुहोस्