नुवाकोटमा एक सातादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन नलाग्ने लागे नबुझ्ने
नुवाकोट,साउन २६ । नुवाकोटमा एक सातादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।
सुर्यचौर र ककनीको अप्टिकल फाइबरमा एक साथ समस्या देखिएको टेलिकमले बताए पनि सुधारको प्रयास भने भएको छैन। गत शनिबारदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागे आफैं काटिने जस्ता समस्या देखिएका छन् ।
जिल्लामा दैवीप्रकोपका कारण आतंकित स्थानीयले सञ्चारमाध्यमको भरपर्दो रुपमा लिइने फोनमा समस्या देखिएपछि थप पीडा महसुस गर्नुपरेको छ ।
जिल्लास्थित नेपाल टेलिकमको कार्यालयमा रहेको ल्याण्डलाईन फोन समेत कर्मचारीले नउठाउदा वास्तविक समस्याबारे स्थानीयले गुनासो गर्न नपाएको बताएका छन् । नेटवर्कमा समस्या देखिएपछि जिल्लाको उत्तरपुर्वी र सुदुरपूर्वी क्षेत्रका नागरिक ज्यादा मारमा परेका छन् । भद्रुटारका स्थानीय गोपी तामाङले बिदेशमा रहेका आफ्ना छोराछोरी बीच कुराकानी गर्न नपाएकाले यहाँको समस्या बारे जानकारी दिन नसकिएको गुनासो गरे। तामाङले फोन आउने तर नबुझिने, डायल भएपछि आफै काटिने जस्ता समस्या भएको बताए । उनले भने- ‘हामीसंग ईन्टरनेट राख्ने क्षमता छैन, सञ्चारको भरपर्दो टेलिकमको नेटवर्कले समस्या दियो।’

