मातातीर्थमा श्रद्धालुको भीड : दिवङ्गत आमाको सम्झनामा तर्पण र पूजा
काठमाडौँ, वैशाख ४ । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ मा तर्पण, श्राद्ध र पूजा गर्ने श्रद्धालुको ठूलो भीड लागेको छ।
आज बिहान ३ बजेदेखि नै तीर्थस्थलमा स्नान, दान, श्राद्ध, तर्पण तथा पूजा गर्ने र मेला भर्नेहरूको घुइँचो लागेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो।
आमा गुमाएका नरनारीहरू आज बिहानै उक्त तीर्थमा पुगेर स्नान गर्ने, हरिहर (विष्णु र शिव) को दर्शन तथा पूजा गर्ने परम्परा रहेको छ।मातातीर्थ कुण्ड मा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
त्यसैगरी, तीर्थ परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्माण गरिएको ‘साझा आमा’को प्रतीकात्मक मूर्ति पनि स्थापना गरिएको छ, जहाँ भक्तजनहरूले आमाप्रति श्रद्धा व्यक्त गर्दै पूजा गर्ने गर्दछन्। हरेक वर्ष आमाविहीन व्यक्तिहरूले मातातीर्थ पुगेर स्नान गरी मीठा–मीठा खाद्य सामग्री चढाउँदै मातृदिवस मनाउने प्रचलन रहिआएको छ।
जात्रा व्यवस्थापनलाई व्यवस्थित बनाउन मातातीर्थ मेला व्यवस्थापन समितिसहित विभिन्न स्थानीय सामाजिक सङ्घसंस्थाहरू सक्रिय रूपमा परिचालन भएका छन्।

