संसदीय समितिमा नेतृत्व चयन आज : १२ समितिमा सभापति निर्वाचन हुँदै



काठमाडौँ, वैशाख ४ । सङ्घीय संसदअन्तर्गत रहेका १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज सम्बन्धित समितिहरूको बैठक बस्दैछ । प्रतिनिधिसभाका १० र प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त दुई गरी कुल १२ समितिमा सभापति चयन प्रक्रिया अघि बढाइएको हो ।

प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्काको उम्मेदवारी परेको छ ।

त्यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुने भएको छ । संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की र नेपाल कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचित सभापतिहरूलाई आजै अपराह्न ४ बजे सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्