आज आमाको मुख हेर्ने पर्व : मातातीर्थमा मेला, देशभर श्रद्धापूर्वक मनाइँदै
काठमाडौँ, वैशाख ४ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । यस दिन जन्मदिने आमालाई सम्मान गर्दै मीठा–मीठा परिकार खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ ।
धार्मिक शास्त्रअनुसार उपाध्याय, आचार्य र पिताभन्दा पनि आमालाई उच्च स्थान दिइएको छ । आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्ने तथा उहाँबाट शुभआशीर्वाद थाप्ने विशेष दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
परम्पराअनुसार छोराछोरी बिहानै उठी स्नान गरी आमालाई मनपर्ने परिकार खुवाउने र सम्मान गर्ने चलन छ । आमा नभएकाहरूले भने तर्पण, पिण्डदान तथा सिदादान गरी दिवङ्गत आमाको सम्झना गर्दै श्राद्ध गर्ने गर्दछन् ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार सनातन वैदिक परम्परामा प्रत्येक मानिसले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता रहेको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने वाक्यांशले आमा र जन्मभूमिको महत्व झन् स्पष्ट पार्ने उहाँको भनाइ छ ।
नौ महिनासम्म गर्भमा राखी सन्तानलाई जीवन दिने भएकाले आमाको स्थान सबैभन्दा उच्च मानिएको छ । शास्त्रमा बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने उल्लेख पाइन्छ ।
यसै अवसरमा मातातीर्थ मा आज विशेष मेला लागेको छ । मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभएको छ । यहाँ आमाको सम्झनामा श्रद्धालुहरू बिहानैदेखि दर्शन, तर्पण र पूजा गर्न पुग्ने गर्दछन् ।

