नेपालमा ५ अर्ब लगानी गर्दै आईएफसी, सन् २०२३ सम्ममा ३० हजारभन्दा बढी एसएमईसम्म पुग्ने लक्ष्य



काठमाडौं,साउन २८। अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको वित्तीय क्षेत्रमा साढे ४ कराेड अमेरिकी डलर लगानी गर्दै छ । शुक्रवारकाे एक अमेरिकी डलरकाे विक्री दरका आधारमा याे रकम बराबर ५ अर्ब रूपैयाँ हुन्छ । यस दिन अमेरिकी डलरकाे विक्रीदर १२७ रूपैयाँ ७२ पैसा रहेकाे छ ।

भुक्तानी प्रणाली सुधार, ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण र सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्न आईएफसीले सन् २०२२ मा उक्त लगानी गर्न लागेको हो । सो लगानीबाट सन् २०२३ सम्ममा साना तथा मझौला उद्यम व्यवसाय (एसएमई)सम्म पुग्ने लक्ष्य आईएफसीले लिएको छ ।

सो अवधिमा आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’अन्तर्गत व्यापार वित्त सुविधा प्रदान गर्नेछ । यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको आईएफसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यो विश्वव्यापी रूपमै आईएफसीको यो पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम भएको बताइएको छ । 

सन् २०२३ सम्ममा नेपालका ३० हजारभन्दा धेरै साना तथा मझौला व्यवसाय र आम मानिसमा वित्तीय पहुँच थप सुदृढ गरिने आईएफसीले बताएको हो । संस्थाको यो कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशिता, प्रतिस्पर्धी क्षमता र स्थायित्वमा सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला उद्यम/व्यवसायमा ठूलो प्रभाव पारेको छ,’ वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भने, ‘यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ ।’ साथै यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत नेपालको पुनरुत्थानलाई तीव्रता दिने उनले बताएका छन् ।

साना तथा मझौला व्यवसाय नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन भएको भन्दै आईएफसीले त्यसको माध्यमबाट १८ लाख मानिसलाई रोजगारीका साथै कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान पुर्‍याउने बताएको छ । अझै पनि ४४ प्रतिशत साना तथा मझौला व्यवसायका लागि वित्तीय पहुँच पाउनु प्रमुख चुनौतीको रूपमा रहेको छ । खासगरी दुर्गम क्षेत्रमा रहेका साना र महिलाको स्वामित्वका कम्पनीमा २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको वित्तीय खाडल रहेको अनुमान गरिएको छ । ‘सीमित वित्तीय सुविधाका कारण नेपालका साना व्यवसायीहरू नगदमा आधारित भएर सञ्चालित छन् । परिणामस्वरूप, आवश्यक लगानी र उपलब्ध वित्तीय पहुँचको ठूलो खाडलमा उनीहरू विस्तार हुन संघर्षरत छन्,’ आईएफसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त खाडल पूर्ति गर्न आईएफसीले नेपालमा सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र एनएमबि बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको छ । पछिल्लो ४ वर्षमा एनएमबि बैंकमा आईएफसीको यो तेस्रो लगानी हो ।

‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामा प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङले भने, ‘यस परिदृश्यमा देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सृजना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ ।’

नेपाल आईएफसीको प्राथमिकता प्राप्त देश भएको भन्दै उनले नेपालमा आईएफसीको पहल समावेशिता अभिवृद्धि तथा दिगो आर्थिक विकासमा केन्द्रित हुने बताए । नेपालमा आईएफसीले सन् १९७५ देखि सबैभन्दा आवश्यकताका ठाउँमा लगानी गरी अवसर सृजनामा सघाउँदै आएको छ । सन् २०२२ को जुन महीनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी ६० करोड अमेरिकी डलर रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्