आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता



काठमाडौं, साउन २९ । यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता भएका छन् । सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । अहिले सम्ममा दर्ता भएका दलहरूमा नेकपा (एमाले) बाहेक बाँकी सबै साना दलहरू रहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) दल दर्ताको क्रमसंख्या १० औं स्थानमा रहेको छ । सत्ता गठबन्धनका दलहरूको दल दर्ता हुन बाँकी रहेको छ भने अन्य दलहरू दर्ता हुने क्रममा रहेका छन् ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्दछ ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । दल दर्तासँगै आयोगले निर्वाचनको लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको छ ।

आयोगले अहिले निर्वाचनको लागि गर्नुपर्ने कामको योजना, कार्यतालिका बनाउने, जनशक्ति व्यवस्थापन, निर्देशिका, कार्यविधि, कानून संशोधन लगायतको कामलाई प्राथमिकतामा राखेको प्रवक्ता पौडेलको भनाई छ ।

नीति, नियम र निर्देशिकाहरूमा समयमै परिमार्जन र निर्माण गर्नुपर्ने विषयमा अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । दल दर्ताको काम सकिएपछि आयोगले उनीहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन लगाउने कार्यसूची तय गरिएको पनि आयोगले जनाएको छ।

त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम शुरू गर्ने आयोगको योजना रहेको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्