लक्ष्मी स्टीलको आम्दानी ६९% ले बढ्यो



काठमाडौं,साउन ३० । सौरभ ग्रूपले सञ्चालन गरेको लक्ष्मी स्टीलको विक्रीवितरणबाट कम्पनीले आर्जन गर्ने आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा गत आव २०७८/७९ को १० महीनामा स्टील तथा अन्य सहायक उत्पादनको विक्रीबाट कम्पनीले ६८ दशमलव ९५ प्रतिशत बढी आम्दानी गरेको छ ।

आव २०७७/७८ मा स्टील तथा यसका सहायक उत्पादनबाट ३ अर्ब ८० करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको सौरभ ग्रूपले गत आवको १० महीनामा ६ अर्ब ४३ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । टीएमटी बार, रिब्ड वायर र बाइन्डिङ वायर लक्ष्मी ब्रान्डमा विक्री गर्दै आएको कम्पनीले त्यति आम्दानी गरेको इक्रा नेपालको रेटिङ तथ्यांकले देखाएको छ । न्यौपाने र अग्रवाल परिवारको साझेदारीको उक्त ग्रूपको स्टील कम्पनी मुख्य उत्पादनमा पर्छ ।

२००८ मा स्थापना भएको लक्ष्मी स्टीलका साथै उक्त समूहले सिमेन्ट, अन्य ब्रान्डमा स्टीलका साथै स्पिनिङ मिल्स, चिया, प्लास्टिक प्याकेजिङजस्ता उत्पादन गर्दै आएको छ । कच्चा पदार्थ खासगरी आइरन बिलेट भारतबाट आयात गर्ने उक्त कम्पनीको वार्षिक उत्पादन क्षमता २ लाख मेट्रिक टन छ । यसमा उल्लिखित तीनओटै उत्पादन पर्छन् । संयुक्त रूपमा व्यवसाय सञ्चालन गरेको उक्त गू्रपमा न्यौपाने परिवारको ५२ प्रतिशत शेयर अंश छ भने अग्रवाल परिवारको ४५ प्रतिशत शेयर अंश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्