नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप



काठमाडौं,भदौ १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक’मा पुनरावेदन गर्न सक्ने व्यवस्थासमेत थप गरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निरीक्षकले गल्ती गरेमा पुनरावेदन गर्न सम्बन्धित विभागको प्रमुखमा पुग्न सक्ने र जिल्ला अदालतले गरेको निर्णयमा उच्च अदालतमा पुनरावेदनमा जान पाउने व्यवस्था थप गरिएको बताए ।

नेपालभरि मेट्रिक प्रणालीलाई प्रयोगमा ल्याउने, आर्थिक गतिविधिमा स्वच्छता, जवाफदेहिता र प्रतिस्पर्धा तथा नापतौलको आधारभूत इकाइको परिभाषामा अन्तरराष्ट्रियस्तरको बनाउने प्रयास उक्त विधेयकका प्रमुख उद्देश्य रहेको उनले बताए । नापतौलको यन्त्रलाई दुरुपयोग गर्ने वा कमजोरी गर्नेलाई कसुरको मात्रा हेरेर नयाँ किसिमले सजायको व्यवस्था गरिएको उनको भनाइ छ । त्यसअघि राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक’ २०७८ माथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद घनश्याम खतिवडाले स्ट्यान्डर्डको सट्टामा नेपाली शब्द राख्न माग गरे । विधेयकका केही दफाको संशोधनकर्तासमेत रहेका सांसद खतिवडाले ऐनलाई समृद्ध बनाउन नै संशोधन प्रस्ताव पेश गरिएको जानकारी दिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नापतौलमा फरक हुनासाथ साना पक्राउ पर्ने र कारबाही हुने तर नापतौलमा ठूलोठूलो तलमाथि गर्नेहरू कारबाहीबाट बच्ने अवस्था रहेको भन्दै त्यसतर्फ सरकार र मन्त्रीको ध्यानाकर्षण गराए । ‘विधेयकको प्रस्तावनामा नै राज्यको स्वामित्वमा उत्पादन र वितरण गरिने भनेर उल्लेख गर्‍यो भने मात्रै नापतौलको मानक दुरुस्त हुन्छ, यसले मात्रै आर्थिक गतिविधि पारदर्शी हुनेछ,’ उनले भने । स्ट्यान्डर्डको सट्टा मानक शब्द राख्न उनले माग गरे । अनुगमनको पूर्वसूचना दिनेलाई कारबाही हुनुपर्नेमा उनले जोड दिए ।

नेकपा एमालेकै सांसद नवराज सिलवालले नापतौल प्रणालीमाथि नै आशंका रहेको उल्लेख गर्दै ग्राहक ठगिएका आरोपहरू लाग्ने गरेको बताए । पाँचौं संशोधनले भने केही आशा जगाएको उनले बताए । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले नापतौल विधेयक ल्याइरहँदा अन्तरराष्ट्रिय मापदण्डलाई पनि ध्यान दिन आग्रह गरे । नेकपा एमालेका सांसद मनकुमारी जिसी र नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरीले नापतौललाई व्यवस्थित बनाउन जरुरी रहेको औंल्याए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्