न्यूबिज बी–स्कूल रेटिङ्स, र्‍याङ्किङ एन्ड अवार्डस् सम्पन्न



काठमाडौं,भदौ २ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज बी–स्कूल रेटिङ्स, र्‍याङ्किङ एन्ड अवार्डस्को छैटौं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा बुधवार भएको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले आधारभूत शिक्षामा लगानी बढाउन जरुरी रहेको औंल्याएका थिए । त्यसका लागि मुलुकभित्र सही वातावरण बनेको पनि उनले बताए ।

मुलुकको विकासका लागि शिक्षा र स्वास्थ्य गुणस्तरीय हुनुपर्नेमा उनले जोड दिए । ‘विकासका लागि शिक्षा, स्वास्थ्य गुणस्तरीय हुन जरुरी छ । तर, सरकारी स्कुलहरूमा राजनीति बढी भयो, त्यसको अन्त्य हुनु जरुरी छ,’ उनले भने ।

पहिले गाउँगाउँमा सडक, बिजुली, शिक्षा नभएको तर अहिले त्यस्ता पूर्वाधार धेरै तयार भइसकेको पौडेलले बताए । एकघर एक धारा एकैपटक पुर्‍याउन भने गाह्रो हुने भन्दै उनले यसका लागि करीब १ खर्ब रुपैयाँ चाहिने भएकाले विस्तारै पुर्‍याइने बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको पनि उनले बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालको शिक्षाप्रणाली कमजोर भएकै कारण उच्च शिक्षा अध्ययनका लागि युवाहरू विदेश पलायन हुने क्रम बढिरहेको बताए । उनले वर्षमा झन्डै १ खर्ब रुपैयाँ उच्च शिक्षाका लागि बाहिरिने गरेको भन्दै त्यसलाई डरलाग्दो विषयका रूपमा चित्रण गरे । अधिकारीका अनुसार मुलुकभित्रको अव्यवस्था र चुनौतीले गर्दा शिक्षाक्षेत्रसमेत अस्तव्यस्त हुन पुगेको हो । मुलुकभित्रै गुणस्तरीय र व्यावहारिक शिक्षाको आवश्यकता औंल्याउँदै उनले युवा जनशक्ति पलायन हुनबाट रोक्नुपर्ने बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालबाट शिक्षा लिन बाहिर जाने क्रम बढेकाले विदेशबाट पनि नेपालमा शिक्षा लिन आउने वातावरण बनाउन जरुरी रहेको बताए । विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीले औसतमा वार्षिक ५ ओटा मेडल पाउने गरेको १० वर्षको अध्ययनबाट देखिएको तथ्य उनले प्रस्तुत गरे ।

भेन्चर क्यापिटललाई धितोपत्र बोर्डले प्राथमिकतामा राखेको पनि अध्यक्ष हमालले उक्त अवसरमा जानकारी दिए । यसले ससाना बिजनेश आइडियाहरूलाई विनाधितो ऋण उपलब्ध गराउन सघाउने हमालको भनाइ थियो ।

कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले सरकारले बिजनेश शिक्षालाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए । ‘सधैं रेमिट्यान्सले मात्रै देश चल्दैन । त्यसैले बिजनेश शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । शिक्षा दिने दायित्व सरकारको हो, त्यो हुन नसकेका बेला निजीक्षेत्रले साथ दिएको छ,’ उनले भने ।

लम्सालका अनुसार नेपाली युवा अध्ययनको लागि विदेशी गल्लीमा घुम्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । ‘अध्ययनका लागि विदेश जानु हुँदैन भन्ने त होइन । तर, नेपाली युवा अध्ययनका लागि विदेशी गल्लीमा घुम्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने ।

अवार्ड कार्यक्रमको मुख्य प्रायोजक प्रभु बैंक लिमिटेड थियो । यामाहा, महालक्ष्मी विकास बैंक, टाटा नेक्सन, एभरेष्ट बैंक, हामा स्टील, युनाइटेड इन्स्योरेन्स, डिसहोम फाइबर नेट र नेपाली पात्रोले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्