भ्रष्टाचार रोक्न अख्तियारको सक्रियता
काठमाडौं, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको छ । आयोगमा चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । यसरी आयोगमा एक महिनामा परेको यो उजुरी आयोग इतिहासमा नै सबैभन्दा बढी हो । भ्रष्टाचार बढेसँगै अख्तियारको सक्रियता पनि बढेकाले आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगको सक्रियता बढेसँगै उजुरी आउने क्रम ह्वात्तै बढेको जानकारी दिए । ‘साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । आयोगको ३२ वर्षे इतिहासमा एक महिनामा यति धेरै उजुरी परेको यो पहिलोपटक हो ।’ आयोगका प्रवक्ता भण्डारीले भने । भण्डारीले भ्रष्टाचार बढेकाले नै उजुरी पनि बढेको हुनसक्ने बताए ।
प्रवक्ता भण्डारीका अनुसार आयोगले गत वर्ष सानादेखि ठूला सबै खालका मुद्दा दायर गर्ने क्रम अत्यधिक बढाएकाले आयोगप्रति विश्वास बढेर उजुरी आउने क्रम पनि ह्वात्तै वृद्धि भएको हो । आयोगले साउन महिनामा मात्रै १६ वटा मुद्दा दायर गरेको छ । साउन महिनामा आएका २१ सय बढी उजुरीमध्ये स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरी बढी छन् ।
त्यसैगरी, स्वास्थ्य, शिक्षा, गृह, ऊर्जा, वन तथा वातावरण मन्त्रालय र मातहतका निकायसम्बन्धी उजुरी पनि अत्यधिक रहेको अख्तियारले जनाएको छ । यसैगरी, भौतिक मन्त्रालय र मातहतका निकाय, खरिद ठेक्का तथा निर्माण सम्बन्धमा भएका अनियमितताविरुद्ध पनि ठूलो संख्यामा उजुरी परेको छ । स्थानीय तहमा उपभोक्ता समितिले गरेका कार्य, विद्यालयमा खाजा वितरण, स्रोतको उपयोगमा समेत अनियमितता भएको भन्दै उजुरी आउने क्रम बढेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २४ हजार ३ सय ३१ उजुरी रहेका थिए । तीमध्ये ८ हजार ९३ वटा उजुरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा मात्रै १६ हजार २ सय ३८ वटा उजुरी परेका थिए । गत आर्थिक वर्ष आयोगमा परेका उजुरीमध्ये फस्र्यौट हुने दर पनि अत्यधिक बढेको छ ।
आयोगका अनुसार सो वर्ष १७ हजार १ सय ६७ उजुरीको फस्र्यौट भएको थियो । जुन ७० दशमलव ५६ प्रतिशत हो । आयोग प्रवक्ता भण्डारीले गत वर्ष हालसम्मकै सबैभन्दा बढी उजुरी फस्र्यौट भएको बताए । यद्यपि, आयोगलाई मुद्दामा सफलता प्राप्तको दर भने घटेको थियो ।
आयोगले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ सय १३ वटा मुद्दा दायर गरेको थियो भने गत आर्थिक वर्ष २०७८/७९ मा १ सय ३१ वटा मुद्दा दायर गरेको थियो । अघिल्लो वर्ष ४ सय ४३ प्रतिवादी कायम गर्दा बिगो १ अर्ब ८९ करोड कायम गरिएको थियो भने गत वर्ष ६ सय ३९ जना प्रतिवादी कायम गर्दा २ अर्ब ७९ करोड बिगो कायम गरिएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए ।
आयोग प्रवक्ता भण्डारीले पछिल्लो समयमा आयोगले भ्रष्टाचार नियन्त्रणका सवालमा प्रवद्र्धनात्मक, उपचारात्मक र दण्डात्मक कारबाहीलाई एकैपटक अघि बढाउँदै आइरहेको छ ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।