१२ प्रतिशतसम्म सस्तिएको कच्चा तेलको भाउ फेरि उकालो लाग्दै



लन्डन (बेलायत),भदौ ८ । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । आपूर्ति अभाव तेल बजारमा व्याप्त रहने हो कि भन्ने चिन्ता बढेपछि तेलको भाउ बढेको हो ।

हालै तेलको भाउमा आएको कमी सच्याउन पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)ले उत्पादन कटौती गर्न सक्ने चेतावनी साउदी अरबले दिएको छ । त्यस लगत्तै तेल बजार दबाबमा आएको हो । 

बिहानी कारोबारमा लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ १ प्रतिशत अर्थात् ९३ सेन्टले बढेर प्रतिब्यारेल ९७ डलर ४१ सेन्टमा उक्लिएको छ । सोमवारको छिटपुट कारोबारमा भने ब्रेन्टको भाउ ४ डलरभन्दा धेरैले घटेको थियो । 

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ प्रतिशत अर्थात् ९० सेन्टले बढेर प्रतिब्यारेल ९१ डलर २६  सेन्टमा पुगेको थियो । यद्यपि, यो महीनाको अहिलेसम्मको कारोबारमा भने ब्रेन्टको भाउ करीब १२ प्रतिशतले घटेको छ भने डल्बयूटीअई पनि ८ प्रतिशत तल आएको छ ।

विश्व अर्थतन्त्र मन्दीमा जाने हो कि भन्ने भय र इन्धनको माग सुस्ताउने चिन्ताबीच तेल बजार दबाबमा आएको छ । पछिल्लो समय तेल बजार ओरालो लाग्न थालेपछि बजारलाई टेवा दिन सदस्य देशहरु उत्पादन कटौती गर्न तयार भएको ओपेकले बताएको थियो ।

तेल बजारमा उत्पन्न पछिल्लो चुनौतीसँग जुध्न ओपेक प्लससँग साधन र लचकता भएको त्यहाँका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिल सलमानलाई उद्धृत गर्दै ब्लुम्बर्गले समाचार छापेको थियो ।

साउदी अरब तेल बजारको बचाउमा उभिदा बजारमा लङ पोजिशन निर्माण हुने सम्भावना बढेको विश्लेषकहरु बताउँछन् । अहिले तेल बजारको लागि इरानको परमाणु सम्झौताको नतिजा ठूलो अनिश्चयका रुपमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्