‘उहाँले नक्सा माग्नुभयो, म नक्सासँगै डोजर लिएर गएँ’ : बालेनशाह



काठमाडौँ,भदौ १० । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले अल्फाविटा कम्प्लेक्सका निर्देशकले नक्सा माग गरेको प्रसङ्ग उल्लेख गर्दै आफूले कार्यालयबाट नक्सासँगै डोजर पनि लिएको गएको बताएका छन् ।

व्यवसायिक भवनको बेसमेन्ट सेमी बेसमेन्ट र जमिन तलाको प्रयोग अनुगमन गर्न विहान बानेश्वरमा रहेको कम्प्लेक्समा पुगेको बेला अल्फाविटाका निर्देशक द्विराज शर्माले महानगरसँग नक्सा होला, हेर्नोस् भनेका थिए । त्यसपछि प्रमुख शाह कार्यालयमा आएर नक्सा लिएर फेरि कम्प्लेक्समा गएका थिए।

त्यहाँ पुगेर कम्प्लेक्सको बेसमेन्ट प्रवेश गर्ने ठाउँमा बनाइएको संरचना भत्काउन लगाएका थिए ।  यसलगत्तै उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘उहाँले आफ्नै नक्सा मसँग माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ । भनेका छन् ।

नक्सा स्वीकृत हुने बेला खुलाइएको प्रयोजन विपरीत सञ्चालनमा भएका संरचनाका विषयमा प्रमुख शाह भन्छन्,  ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आँफै बुझेर अनधिकृत रुपमा बनाइएका संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ । त्यहीअनुसार निर्माण र प्रयोग गरिदिनुहोला ।’

महानगरले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो । 

काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो ।

यी भवनको बेसमेन्ट वा सेमी बेसमेन्टमा कि पार्किङ् गराउनुपर्छ कि भण्डार बनाउनु पर्छ । तर यीमध्ये अधिकांशले अन्य प्रयोजनमा ठाउँलाई प्रयोगमा ल्याएका छन् । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार आज अल्फाविटासँगै बानेश्वरबाट शंखमुल जाने सडकमा रहेको बर्गर हाउसलाई कारवाही गरिएको छ ।

त्यस क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करीव ५ ठाउँमा पसल, रेष्टुरेन्टजस्ता व्यवसाय सञ्चालनमा छन् । उनीहरुलाई प्रयोजनअनुरुप संरचना प्रयोग गर्न सचेत गराइएको छ । त्यस्तै वडा नं. ९ मा मुक्ति विकास बैङ्क भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्