मनास्लुमा आरोहीको आकर्षण : शरद यामका लागि २१४ आरोहीलाई अनुमति



काठमाडौं,भदौ २२ । विश्वको आठौं अग्लो र नेपालको सातौं अग्लो मनास्लु (८ हजार १६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । यस वर्षको शरद् याम (अटम सिजन)को हिमाल आरोहणमा विगत वर्षमा झैं मनास्लु आरोहणमा आरोहीको संख्या सबैभन्दा बढी देखिएको छ ।    

पर्यटन विभागका अनुसार यो सिजनमा २५ समूहका २३७ आरोहीले सगरमाथा (८ हजार ८४८)सहित विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् । यसमा सबैभन्दा बढी आरोही मनास्लुका लागि छन् । विभागको पर्वतारोहण शाखाको भदौ १९ गतेसम्मको विवरणमा मनास्लु आरोहणका लागि मात्र १९ समूहका १६० महिला र ५० पुरुषसहित २१४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । विगतका वर्षमा झैं यसपटक पनि मनास्लु आरोहणमा आरोहीको संख्या उत्साहजनक रहेको नेपाल पर्वतारोहण संघका पूर्वमहासचिव कुलबहादुर गुरुङले बताए । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनास्लु आरोहणका लागि धमाधम आरोही आइरहेको बताए । उनका अनुसार कम्पनीका तर्फबाट करीब ६० जना आरोही मनास्लु आरोहणका लागि आएका छन् । अबको एक महीना आरोही आउने भएकाले मनास्लुमा यो संख्या अझै बढ्ने अपेक्षा उनको छ ।

विसं २०७३ मा मनास्लु हिमाल आरोहणको ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । मानसिरी पर्वतशृंखलामा रहेको यो संसारको आठौं अग्लो हिमाल हो ।

२०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्व बजारमा थप प्रवर्द्धन भएको नेपाल पर्वतारोहण संघले बताएको छ ।

पर्यटन विभागले जारी गरेको पछिल्लो आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ अनुसार सगरमाथा, धवलागिरि (८ हजार १६७ मिटर) लगायत हिमाल र पिक आरोहण गर्न हालसम्म ४५ मुलुकका ५४ महिला तथा १८३ पुरुष गरी २३७ आरोही नेपाल आएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्