नक्सा पास नगरि निर्माण भएका घर, भवनलाई महानगरको ९० दिने ‘अल्टिमेटम’



काठमाडौं,भदौ २३ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड अनुकूल नक्सा पास नगरि निर्माण भएका संरचनाहरुको नक्सा पास लिन अनरोध गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनसमेत नक्सा पास नगर बनाइएको र मापदण्ड अनुकुल रहेका भवनहरुको नक्सा पास लिनका लागि ९० दिन म्याद दिएको हो ।

एक सूचना निकाल्दै महानगरले ९० दिन भित्रमा नक्सा स्वीकृत गरी नियमित गर्न व्यक्ति, संघसंस्था, संस्थान वा सरकारी कार्यालयलाई आव्हान गरेको हो ।

तोकिएको समयमा नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ ।

महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । साथै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्