शिवपुरीमा लिखु खोलाको नदीजन्य पदार्थ उत्खननबारे सार्वजनिक सुनुवाइ
नुवाकोट,कात्तिक १६ । शिवपुरी गाउँपालिकाले लिखु खोला र आसपासका क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवाको दिगो संकलन, उत्खनन तथा निकासीसम्बन्धी वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा लिखु खोला तथा आसपासका क्षेत्रबाट नदीजन्य पदार्थको दिगो संकलन, उत्खनन र निकासीको प्रक्रिया, त्यसबाट हुने लाभ तथा उत्खनन गरिने परिमाणसम्बन्धी विषयमा प्रस्तुति गरिएको थियो।
कार्यक्रममा डेभलपमेन्ट म्याट्रिक्स प्रा.लि. काठमाडौंले संक्षिप्त वातावरणीय अध्ययन (बीईएस) प्रतिवेदन तयारीका लागि आवश्यक विवरण प्रस्तुत गरेको थियो। प्रस्तुतिमाथि उपस्थित सर्वसाधारण, सरोकारवाला तथा अन्य सहभागीबाट राय, सुझाव संकलन गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
लिखु खोला र आसपासका क्षेत्रबाट नदीजन्य पदार्थको संकलन, उत्खनन तथा निकासीलाई वातावरणीय दृष्टिकोणबाट दिगो र व्यवस्थित बनाउन सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो।

