राष्ट्रिय परिचयपत्र प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने



काठमाडौं,कात्तिक १६ । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ ।

विभागले आज सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभएकै कारण राहदानी, बैङ्क तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा प्राप्त गर्न नागरिकलाई समस्या नहुने जनाएको हो ।

विभागका अनुसार गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका केही नागरिकको विवरण प्रमाणीकरणमा प्राविधिक समस्या देखिएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा विवरण दर्ता तथा परिचय नम्बर जारी गर्ने कार्य नियमित भए पनि स्वचालित जैविक विवरण प्रमाणीकरण प्रणालीको क्षमताका कारण प्रमाणीकरणमा ढिलाइ भएको विभागले जनाएको छ ।

उक्त प्रणालीको क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको र आगामी दुई साताभित्र सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरिएको विभागले जनाएको छ ।

विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध सेवा प्रदायक निकायलाई यसबारे जानकारी गराउँदै आवश्यक समन्वय गरिसकेको छ ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई असहज भएको भन्दै गुनासो आउने गरेको थियो ।

यसैलाई सम्बोधन गर्दै विभागले प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण कुनै पनि नागरिक सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने स्पष्ट पारेको छ । साथै, सम्बन्धित निकायलाई प्रमाणीकरण नभएका नागरिकलाई समेत नियमित सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्