जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
रुकुम,कात्तिक १६ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ११ः३० बजे खलङ्गाबाट सिम्ली जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गोविन्द वि.क. र पछाडि सवार काशीराम वि.क. घाइते भएका थिए । घाइतेमध्ये काशीरामको उपचारका क्रममा दिउँसो १ः४५ बजे चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले जिप चालक महेश भण्डारीसहित दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

