गगन थापाको टिप्पणी : ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’
काठमाडौं,कात्तिक १६ । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
यसअघि प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा चेतावनीपूर्ण शैलीमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै लेखेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा त्यसलाई कांग्रेस सभापति थापालक्षित भन्दै चर्चा भइरहेको थियो। त्यसैको जवाफस्वरूप थापाको टिप्पणी आएको अनुमान गरिएको छ।
थापाले आफ्नो स्टाटसमा ‘ठीक १८:०० बजेको छ’ भन्ने समय उल्लेख गर्नुलाई उनीविरुद्ध फैलाइएको १८ करोड रुपैयाँको सेटिङसम्बन्धी आरोप र चर्चासँग जोडेर हेरिएको छ।
यद्यपि, सभापति थापाले आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्री बालेनको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेका छैनन्। प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सामाजिक सञ्जालमा आएका यी अभिव्यक्तिले राजनीतिक वृत्तमा थप चर्चा चुलिएको छ।

