लाइसेन्समा नयाँ नियमः असोजदेखि ट्रायलमा ७० अंक ल्याए पास
काठमाडौं,भदौ २६ । बागमती प्रदेशले असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परिक्षमा नयाँ नियम लागू गर्ने भएको छ । १ गते असोजदेखि नयाँ नियम लागू हुने गरि निर्देशिका तयार पारिहेको श्रम तथा यातायत मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोख्रेलले बताए ।
प्रवक्ता पोखरेलका अनुसार ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ बमोजिम लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी रहेको छ । यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था२०७८ जेठदेखि ल्याएको थियो ।तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन् । यहि निर्देशिकामा भएको व्यवस्थालाई बागमति प्रदेशले कार्यान्वयन गर्न लागेको हो । कानुन स्पष्ट नहुँदा लामो समयसम्म अलमल भएको प्रदेश मन्त्रालयहरूले बताएका थिए।
नयाँ प्रणाली अनुसार निर्देशिकामा वर्ग ’क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ’ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ । निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ’ख’ (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ । यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ । यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन।

