भागबण्डाको किचलोले गठबन्धनको गाँठै फुकेन



काठमाडौं, भदौ २७ । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन ।

आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले संभावित उमेद्वारहरुले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् ।

बैठकले सिट बाँडफँट नटुंगिएपछि सोमबार पुनः बैठक बस्ने गरी सकिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । छलफल गरेर निष्कर्षमा पुग्ने भनिए पनि आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्रै पेश गरिएको खनालले बताए।

बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको उनको भनाइ छ । ‘कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा रिपोर्टिङ भयो’, खनालले भने, ‘सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने र सिट बाँडफाँटको टुंगो लगाइने छ ।’

तर, लामो समयदेखि सिट बाँडफाँटको मापदण्डमै शीर्ष दलका नेताहरु अल्झिएका कारण अहिले नै मिल्ने कुरा शंकाको घेरामा छ । छलफलको सुरुवातीमै नेपाली कांग्रेसले एक सय नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।

उक्त बटमलाइनबाट कोही पनि पछि हटेका छैनन् । गठबन्धन दलहरुबीच २०७४ मा जुन दलले जितेको त्यसैलाई छाड्ने र एमालेले जितेका क्षेत्रमा भागबण्डा गर्ने गरी कांग्रेस बाहेकका दलहरुको धारण छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्