नेपालमा ५५ ओटा देशको वैदेशिक लगानी, भारतको सबैभन्दा बढी
काठमाडौं,भदौ २९ । नेपालमा ५५ ओटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणबाट यस्तो देखिएको हो। आर्थिक वर्ष २०७७/ ७८ को असार मसान्तसम्ममा नेपालमा ५५ ओटा देशको प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षणले देखाएको छ। जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड रहेको छ।
भारतपछि भने चीन रहेको छ । उसले ३३ अर्ब रुपैयाँ लगानी गरेको देखिन्छ । आयरल्यान्डले १६ अर्ब ४८ करोड रुपैयाँ , सिंगापुरले १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६० दशमलव ५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९ दशमलव ४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्र अन्तरगत जलविद्युत् क्षेत्रमा ३० दशमलव ८ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव ५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ।
यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव ९ प्रतिशत सेवा क्षेत्र अन्तरगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा रहेको छ। समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव ९ प्रतिशत रहेको छ भने नाफाको दर करीब १४ दशमलव ७ प्रतिशत रहेको छ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।
आर्थिक वर्ष २०७७/ ७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ ओटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७७/ ७८ तयार पारिएको केन्द्रीय बैंकले बताएको छ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७/ ७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव ८ प्रतिशतले वृद्धि भई २२७ अर्ब ९५ करोड रुपैयाँ कायम छ।
कुल वैदेशिक लगानीमध्ये चुक्तापूँजीको अंश ५३ दशमलव ९ प्रतिशत, सञ्चितिको ३१ दशमलव ६ प्रतिशत र कर्जाको अंश १४ दशमलव ५ प्रतिशत रहेको छ। त्यसैगरी चुक्तापूँजीको अंश १३ दशमलव ७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो।

