अपांगता भएकालाई रोजगारी सुनिश्चित गर्न रोजगार मेला हुँदै



विराटनगर,असोज १२ । अपांगता भएका व्यक्तिलाई रोजगारी सुनिश्चित गर्न विराटनगरमा दुईदिने रोजगार मेला आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजीक्षेत्रका संघसंस्थाको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते मेला आयोजना गर्ने तय भएको छ । ‘रोजगारीमा अपांगता भएका व्यक्ति नछुटौं, राष्ट्र निर्माणमा सबै जुटौं’ नारासाथ मेला आयोजना हुने विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले अपांगता भएका व्यक्तिलाई रोजगारी सुनिश्चित गर्ने दायित्व निजीक्षेत्रले समेत लिने उद्देश्यले रोजगारदाता र लाभग्राहीबीच जमघट गराउन लागिएको जानकारी दिए ।

मेलामा प्रदेश १ का सयभन्दा बढी रोजगारदाता र ३०० भन्दा धेरै सेवाग्राहीलाई एकै थलोमा उपस्थित गराएर रोजगारीको अवसर सृजना गरिने छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, संखुवासभा, भोजपुरलगायत जिल्लाबाट मेलामा रोजगारदाता र अपांगता भएका व्यक्तिले सहभागिता जनाउने छन् । मेलामा सहभागी हुनेको व्यक्तिगत विवरण तयार गरेको र रोजगारदाताको नक्सांकनसमेत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा अपांगता भएका व्यक्तिले आफ्नो योग्यता र क्षमताका आधारमा रोजगारदातासँग प्रत्यक्ष परामर्श गर्नेछन् । त्यसका लागि विभिन्न ९ ओटा क्षेत्र निर्धारण गरी परामर्श गराउने तयारी आयोजकको छ । विशेष गरेर शिक्षा, स्वास्थ्य, उत्पादन, हस्पिटालिटी, गार्मेन्ट, बैंक, विकास साझेदार, साना उद्योगअन्तर्गतका सिलाइ–कटाइका स्टल राखेर परामर्श प्रदान गर्ने तथा सम्बद्ध व्यक्तिको क्षमताको परीक्षण गर्ने व्यवस्था मिलाइने उपाध्यक्ष राउतले जानकारी दिए ।

रोजगार मेला नेपाल उद्योग वाणिज्य महासंघ, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांगता महासंघ–नेपाल, करुणा फाउन्डेशनको संयुक्त आयोजनामा सञ्चालन हुनेछ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने मेलामा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट व्यापार संघ सहयोगी रहनेछन् । प्रदेश १ मा २५ जनाभन्दा बढीलाई रोजगारी दिइरहेका रोजगारदाताहरू मेलामा रोजगारदाताका रूपमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्