लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेर सुशासन सम्भव छैन : गगन थापा
काठमाडौँ,कात्तिक १५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताउनुभएको छ ।
नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्वेच्छाचारी गतिविधि स्वीकार्य नहुने बताउनुभयो ।
सञ्चारमाध्यममा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै उहाँले वक्तव्य जारी गर्नु मात्रै पर्याप्त नहुने बताउनुभयो । पक्राउको आदेश कसले दिएको हो, कुन कानुनका आधारमा पक्राउ गरिएको हो र घटनामा को जिम्मेवार छ भन्ने विषयमा स्पष्ट जवाफ र परिणाम आउनुपर्ने उहाँको भनाइ थियो ।
सरकारमा रहेका व्यक्तिको इच्छा नै कानुन हुन नसक्ने उल्लेख गर्दै थापाले राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो । सरकारी कर्मचारीलाई कार्यस्थलबाट पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्याइएको घटनामा पनि कानुनी प्रक्रिया पालना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई नरहेको थापाले बताउनुभयो । सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको संरक्षणका लागि कांग्रेसले निरन्तर निगरानी र खबरदारी गर्ने प्रतिबद्धतासमेत थापाले व्यक्त गर्नुभयो ।

