जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, पोखरा ९ रनले पराजित



काठमाडौं,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो। पोखराको भने यो लगातार दोस्रो हार हो।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा अर्जुन घर्तीले ७ रन बनाए। किरण ठगुन्नाले ५ बलमा आक्रामक १५ रन जोडे।

पोखराको ब्याटिङ धराशायी बनाउन जनकपुरका मोइन अलीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए। सैफ हसन र हरमित सिंहले समान २ तथा ललित राजवंशी र जेम्स निसमले १–१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

जनकपुरका लागि त्रितराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै अभिषेक तिवारीले १० बलमा अविजित २४, मोइन अलीले १६ बलमा २१ तथा जेम्स निसमले ११ रन बनाए।

पोखराका सकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। चमिका करुनारत्नेले २ तथा मेहेदी हसन र मोहम्मद सैफुद्दिनले समान १ विकेट लिए।

सिजनको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

एनपिएलअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्