नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अबदेखि शुल्क तिर्नुपर्ने
काठमाडौँ,कात्तिक १५ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक दस्तुर तिर्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले आजदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क सङ्कलन सुरु गरेको जनाएको छ ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सवारीसाधनको क्षमताअनुसार फरक–फरक शुल्क निर्धारण गरेको थियो ।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर–ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा एकल पछाडिको धुरा भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशातर्फ २०० रुपैयाँ निर्धारण गरिएको छ ।
बहुधुरा भएका ट्रक तथा भारी सवारीसाधन र उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थासँगै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्ग र यात्राको दिशाअनुसार तोकिएको दस्तुर बुझाउनुपर्नेछ ।

