मङ्सिर १७ देखि काठमाडौँमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने
काठमाडौँ,कात्तिक १५ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन तथा नेपाली उत्पादनको निर्यात वृद्धि गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म काठमाडौँमा ११औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।
नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायी सहभागी हुने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
मेलामा २०० भन्दा बढी कक्षमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी गरिनेछ । अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला र पश्मिनालगायत नेपाली उत्पादनको निर्यात प्रवर्द्धनलाई मेलाले प्राथमिकता दिनेछ ।
मेलाको मुख्य आकर्षणमा नेपाली हस्तकलाका सामग्री, वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारीसाधनका छुट्टाछुट्टै प्रदर्शनी कक्ष रहनेछन् । सार्क राष्ट्रसहित चीन, कोरिया र जापानका क्रेतालाई समेत आमन्त्रण गरिएको महासङ्घले जनाएको छ ।
मेलाका क्रममा द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानीका विषयमा छलफल हुने तथा करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुका साथै विदेशी लगानी र प्रविधि भित्र्याउन तथा मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने महासङ्घको विश्वास छ ।

