हेलीमार्फत यसरी गर्नुहोस् पाथीभराको दर्शन



धरान,असोज १२ । धरान होलिडेजले सोमवारदेखि नवमीसम्मका लागि धरानबाट हेलिकोप्टरमार्फत पाथीभरा दर्शन गर्न जाने प्याकेज सञ्चालनमा ल्याएको छ । गाडी यात्रा र पैदलमार्फत पाथीभरा दर्शनमा जान नसक्ने तीर्थालुका लागि हेलिकोप्टरमार्फत दर्शन गर्ने व्यवस्था मिलाइएको कम्पनीका अध्यक्ष कुन्दन श्रेष्ठले बताए ।

‘पाथीभरामा हिँडेर जान नसक्ने वृद्धवृद्धाका लागि यो सुविधा ल्याइएको हो, हेलिकोप्टरमार्फत जाँदा पाथीभरा दर्शन गरेर २ घण्टाभित्र धरान फर्किन सकिन्छ ।’ धरानबाट दैनिक तीनओटा फ्लाइट हुने उनले बताए । यद्यपि सोमवार दिउँसो पानी परेकाले उडान रद्द गरिएको उनको भनाइ छ । मौसमले साथ दिए मंगलवार ६ ओटासम्म उडान गरिने उनले बताए ।

विगतमा पाँचजनाको मात्र सीट भएको हेलिकोप्टरबाट उडान गरिने गरिएकोमा यसपटक ६ सिटे हेलिकोप्टर ल्याइएको श्रेष्ठले जानकारी दिए । दशैंमा पाथीभरामा विशेष पूजा हुन्छ भने धार्मिक मेला समेत लाग्छ । त्यसैलाई लक्षित गरेर धरानबाट हेलिकोप्टरमार्फत जाने व्यवस्था गरिएको उनको भनाइ छ । उनका अनुसार धरान–पाथीभरा–धरान उडानका लागि प्रतिव्यक्ति शुल्क ३८ हजार ९९९ रुपैयाँ रहेको छ । यसका लागि ६ जनाको समूह बनाएर आउनुपर्ने उनको भनाइ छ । यस्तै, पूर्व क्षेत्रमा कुनै उद्धार कार्यमा आवश्यक परेमा पनि हेलिकोप्टर उपलब्ध गराइने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्