असोज २४ र २५ गते ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ हुँदै



काठमाडौं,असोज १२ । असोज २४ र २५ गते काठमाडौंमा ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो ।

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा सम्मेलनको आयोजना गर्न लागेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सम्मेलनको नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्‍याउने लक्ष्य सम्मेलनले लिएको छ ।

पत्रकार सम्मेलनमा एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष एवं एनआरएनका पूर्वअध्यक्ष शेष घलेले विश्वमै वातावरणीय र आर्थिक रूपले बलियो विकल्पका रूपमा देखा परेको हाइड्रोजन उत्पादनलाई नेपालमा पनि सम्भाव्य बनाउन समिट आयोजना गरिएको जानकारी दिए । ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जमुना घलेले सम्मेलनमा हाइड्रोजन उत्पादनका सन्दर्भमा अन्तरराष्ट्रिय अनुभव, हालसम्मको ज्ञान तथा प्रविधि, नेपालमा गर्नुपर्ने नीतिगत तथा अन्य व्यवस्थाका विषयमा बृहत् छलफल हुने बताइन् ।

विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्ति, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तरराष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तरराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिको सहभागिता रहनेछ ।

ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस तथा विश्लेषण गर्ने बताइन् ।

यसैगरी दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायुमैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने र ऊर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने पनि सम्मेलनको उद्देश्य रहेको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्