ऊर्जामन्त्रीको निर्देशन : चाडपर्वमा विद्युत् सेवा अवरुद्ध नहोस्
काठमाडौं,असोज १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडमा विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् ।
प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अभिछिन्न विद्युत् सेवा प्रवाह गर्न काम गर्ने कर्मचारीहरूलाई निर्देशन दिइन् ।
मन्त्री भुसालले भनिन्, ‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।’ केही बेर विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै उनले यसाे हुन नदिन उच्च सतर्कता अपनाउन कर्मचारीहरूलाई आग्रह गरिन् ।
सो अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको बताए । उनले चाडपर्वका समयमा अझै सक्रियता अपनाउन कर्मचारीहरूलाई निर्देशन दिए ।