चितवनका फोटोग्राफरलाई फोटोग्राफी तालिम



चितवन,असोज १५ । चितवनका फोटोग्राफरलाई फोटोग्राफीसम्बन्धी तालिम दिइएको छ । उद्योग वाणिज्य संघ, चितवनको आयोजना र चितवन साइकल राइडर्स क्लब एण्ड दिव्यज्ञान केन्द्रको सहआयोजनामा बिहीवार नारायणगढमा तालिम दिइएको हो । प्रशिक्षण फोटोग्राफर किशोर श्रेष्ठले प्रशिक्षण दिएका थिए । 

सो अवसरमा बोल्दै श्रेष्ठले फोटोग्राफरले क्रियटिभ र आकर्षक  फोटो खिच्नुपर्नेमा जोड दिए । ‘फोटो जोसुकैले पनि खिच्छ, क्यामरा जसले पनि चलाउन सक्छ । तर, त्यो फोटोग्राफरले कुन एन्गलले खिच्छ। फोटोले के सन्देश दिन्छ र कस्तो कथा भनेको छ महत्त्वपूर्ण कुरा हो,’ श्रेष्ठले भने । 

अबको फोटोग्राफरले लाइट र स्याडोको सन्तुलन कायम गरी फोटो खिच्नु पर्ने उनले बताए । फोटोग्राफी कला र विज्ञानको संयोजन भएको भन्दै उनले एउटै फोटो हजार शब्दभन्दा बढी सन्देशमुलक र शक्तिशाली हुने बताए । प्रविधिसंँगै मानिसको चाहना र आवश्यकता पनि बढ्दै गएकोले फोटोग्राफर सिर्जनशील हुनुपर्ने श्रेष्ठको भनाइ थियो । 

सो अवसरमा बोल्दै उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आजको नयांँ प्रविधिको युगमा फोटोग्राफीको सम्भावना र महत्त्व बढ्दै गएको बताए । फोटाेग्राफीलाई व्यवसायीकरण गरी फोटोसेसन र फोटोग्राफी प्रतियोगिताका साथै फोटोग्राफी एक्जिविसन गर्न सकिने उनको भनाइ थियो । आगामी दिनमा पनि संघले रचनात्मक र सिर्जनात्मक काममा निरन्तर सहयोग गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे । 

चितवन फोटोग्राफी संघका अध्यक्ष ध्रुव सापकोटाले संघले यस्ता तालिम र अन्तरक्रिया कार्यक्रममा फोटोग्राफरलाई सहभागी गराउंँदै लैजाने बताए । फोटोग्राफीहरू संगठित र व्यवसायिक बन्नुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा पनि उवासंघ, स्थानीय निकायसंँग समन्वय गरी व्यवसायिक फोटोग्राफी तालिमलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो । 

कार्यक्रममा फोटोग्राफीसम्बन्धी व्यवसायी, चितवन राइडर्स क्लबका प्रतिनिधि दिव्य ज्ञान केन्द्रका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्