शरद् ऋतुमा २३ हिमाल चढ्न ६१२ ले लिए अनुमति



काठमाडौं,असोज १५ । यस वर्ष सन् २०२२ को शरद् ऋतु (अटम)मा हिमाल र चुचुरा आरोहण गर्न विभिन्न मुलुकका ६१२ जनाले अनुमति लिएका छन् । मनासलुदेखि अन्नपूर्णसम्मका हिमाल आरोहण गर्न बिहीवारसम्म उक्त संख्याका पर्यटकले अनुमति लिएका हुन् । पर्यटन विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार उक्त संख्यामध्ये १४२ महिला छन् ।

यो अवधिमा ती पर्वतारोहीबाट ५ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागले उल्लेख गरेको छ । नेपालमा पर्वतारोहणका लागि सबैभन्दा उपयुक्त सिजन वसन्त (स्प्रिङ) लाई मानिन्छ, त्यसपछि अटम सिजनमा पर्वतारोहणका लागि विदेशी आउने गर्छन् । 

कोभिड–१९ संक्रमण कम भएसँगै पर्यटक आउने क्रम बढ्न थालेपछि यो सिजनमा पनि पदयात्रा तथा हिमाल आरोहणका लागि विदेशी आउने क्रममा सुधार देखिएको छ । यो सिजनमा सबैभन्दा बढी मनासलु हिमाल आरोहण अनुमति जारी भएको छ । विभागको तथ्यांकअनुसार ४०४ जनाले मनासलुका लागि अनुमति पाएका छन् । 

३८ दलबाट ९७ महिला र ३०७ पुरुषले मनासलु आरोहणका लागि अनुमति पाएका हुन् । सबैभन्दा धेरै राजस्व पनि यही हिमाल आरोहणको अनुमतिबाट संकलन भएको छ । विभागले मनासलु आरोहण गर्नेलाई अनुमति दिएर यो सिजनमा ४ करोड ६२ लाख रुपैयाँ शुल्क संकलन गरेको छ । मनासलुपछि आरोहीको रोजाइमा ७ हजार १२६ मीटर अग्लो हिमलुङ हिमाल परेको छ । हिमलुङ आरोहणका लागि ६३ जनाले अनुमति पाएका छन् । ८ हजार १६७ मीटरको धवलागिरि हिमाल आरोहणका लागि ३४ जनाले अनुमति लिएका छन् ।

यो सिजनमा यीसँगै आमादब्लम, अन्नपूर्ण, वरुणत्से, चण्डी हिमाल, गन्चेन्पो, नुप्त्से, पुमोरीलगायत हिमाल आरोहणका लागि विभागबाट अनुमति लिएका छन् । शरद् ऋतुमा अधिकांशको रोजाइमा पर्ने मनासलु हिमालमा हिमपहिरो जाँदा यो वर्ष १ जना चर्चित स्की खेलाडी तथा पर्वतारोहीले ज्यान गुमाइन् । गत सोमवार दिउँसो मनासलु हिमालको चौथो शिविर नजिकैबाट हिमपहिरो जाँदा १० जनालाई सामान्य चोटपटक लागेको थियो भने ४ जना गम्भीर घाइते भएका थिए ।  आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्