आज दशैंको सातौं दिन: गोर्खा दरबारबाट फुलपाती हनुमानढोका ल्याईदै



काठमाडौं,असोज १६ । आज फुलपाती, बडादशैंको सातौं दिन । यो सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।

आज घर(घरमा घटस्थापनाका दिन राखिएको जमरा र फुलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । काठमाडौको वसन्तपुरस्थित हनुमानढोका दरबारको दसैँघरमा गोरखाको गोर्खा दरबारबाट ल्याइएको फूलपाती भित्र्याइन्छ ।

उक्त फूलपाती गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।


जमलबाट बसन्तपुर को हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको छ ।

दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ ।


आजकै दिन गोरखा दरबारमा भने साइत हेरी भृकुटी सुसारेहरुले दरबार क्षेत्रमा रहेको जंगलबाट ल्याएका नवपत्रिका अर्थात नौ खालका फुलहरु( जयन्ती, अशोका, वेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिंगार्ने चौतारोमा राख्ने र गोरखा दरबारबाट बाजागाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फुलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्दछन् ।

फुलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने चलन रहेको छ । त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरुमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ । फुलपाती भित्र्याउने साईत अनुसार टुडिखेलमा नेपाली सेनाले फुलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्दछन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । उक्त बढाईंको राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरुले प्रत्यक्ष अवलोकन गर्दछन् भने सर्वसाधारणलाई समेत त्यसको अवलोकलन गर्ने अवसर मिल्दै आएको छ ।

फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ । फुलपातीका दिनदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु विदा हुने गर्दछन् । यसो हुँदा मानिसहरु फुर्सदिला भई टाढाटाढा रहेका आफ्ना घर जाने मौका पाउँछन् । दशैं मान्न घर फर्किनेहरूको भिडले यातायात साधन भरिभराउ हुन जान्छन् ।

बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । फूलपातीकै दिनदेखि गाउँघर शहरबजारमा रोटे र लिङ्गे पिङ हाल्न थालिन्छ ।शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज (आईतबार) घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाईँदैछ । सरकारले आजैबाट सार्वजनिक बिदा दिएको छ । फुलपातीको दिनदेखि दशैंको विशेष चहलपहल शुरु हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्