मंसिर ४ गते १ करोड ७९ लाखले मतदान गर्न पाउने, दुईवटा प्रदेशमा पुरुष भन्दा महिला धेरै मतदाता



काठमाडौं,असोज १६ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेपालमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष, ८८ लाख ४७ हजार ५ सय ८९ जना महिला तथा १ सय ८५ जना लैंगिक तथा अल्पसंख्यक ९अन्य० मतदाताले मतदान गर्न पाउने छन् ।

प्रदेशगतरुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा मतदाताको संख्या रहेको छ । बागमती प्रदेशमा १७ लाख ३८ हजार ८७ पुरुष, १७ लाख ३३ हजार ३ सय ८७ महिला तथा २७ जना अन्य गरि ३४ लाख ७१ हजार ४ सय ९२ जना मतदाताहरुले मतदान गर्न पाउने भएका हुन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा मतदाताहरु रहेका छन् । कर्णालीमा ५ लाख १० हजार ४ सय २० पुरुष,४ लाख ९७ हजार ९ सय ८० महिला तथा ३ जना अन्य गरि १० लाख ८ हजार ४ सय ३ जना मतदाता रहेका छन् । प्रदेश नंबर १ मा ३३ लाख ९६ हजार ८ सय ६५ जना मतदाता रहेका छन् । जहाँ १७ लाख २९ हजार ७ सय ७२ जना पुरुष, १६ लाख ६७ हजार ७१ जना महिला तथा २२ जना अन्यले मतदान गर्न पाउने छन् । मधेश प्रदेशमा १८ लाख २७ हजार ८ सय ५४ जना पुरुष, १५ लाख ५८ हजार ७ सय ४ महिला तथा ८७ जना अन्यले मतदान गर्नेछन् भने लुम्विनी प्रदेशमा १६ लाख ३७ हजार १ सय ३२ जना पुरुष, १६ लाख १२ हजार ४ सय ७१ महिला र ३४ जना अन्य गरि ३२ लाख ४९ हजार ६ सय ३४ जनाले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा ८ लाख ८२ हजार ३ सय २९ पुरुष, ९ लाख ३५ हजार ३ सय १ महिला र ११ जना अन्य गरि १८ लाख १७ हजार ५ सय ४१ जनाले मतदान गर्नेछन् । यसैगरी सुदुरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २ सय १२ जना पुरुष, ८ लाख ४२ हजार ७ सय ७४ जना महिला र १८ जना अन्य गरि १६ लाख ५८ हजार ४ जनाले मतदान गर्न पाउने छन् ।

दुईवटा प्रदेशमा पुरुष भन्दा महिला धेरै मतदाता

निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार सात प्रदेश मध्ये दुईवटा प्रदेशमा पुरुषको भन्दा महिला मतदाताको संख्या धेरै रहेको छ । महिला मतदाता संख्या धेरै रहेको प्रदेशमा गण्डकी तथा सुदुरपश्चिम रहेको छ । गण्डकी प्रदेशमा ८ लाख ८२ हजार ३ सय २९ पुरुष, ९ लाख ३५ हजार ३ सय १ महिला मतदाता छन भने सुदुर पश्चिममा ८ लाख १५ हजार २ सय १२ जना पुरुष, ८ लाख ४२ हजार ७ सय ७४ जना महिला मतदाता रहेका छन् ।

२२ हजार मतदान केन्द्र
निर्वाचन आयोगले दिएको जानकारी अनुसार देशैभरी १० हजार ८ सय ९१ मतदान स्थलमा २२ हजार २ सय २६ वटा मतदान केन्द्रहरु रहेका छन् । सबैभन्दा धेरै मतदान स्थल तथा केन्द्र मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा २ हजार १ सय ५६ मतदान स्थलमा ४ हजार २ सय ३५ मतदान केन्द्र रहेका छन् ।

यसैगरी बागमतीमा १ हजार ८ सय १२ मतदान स्थल र ४ हजार १ सय ४२ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश नंबर १ मा १ हजार ८ सय ९७ मतदान स्थलमा ४ हजार ९९ वटा मतदान केन्द्र रहेको छ । १ हजार २ सय ८३ मतदान स्थलमा २ हजार ३ सय ३९ वटा मतदान केन्द्र रहेका छन् ।

लुम्विनी प्रदेशमा १ हजार ६ सय ४९ मतदान स्थलमा ३ हजार ८ सय ६१ वटा मतदान केन्द्र रहेको छ । त्यस्तै कर्णालीमा ९ सय ३३ मतदान स्थलमा १ हजार ४ सय ३ वटा मतदान केन्द्र रहँदा सुदुरपश्चिममा १ हजार १ सय ६१ मतदान स्थल तथा २ हजार १ सय ४६ वटा मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्