नुवाकोटमा रहेको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइयो
नुवाकोट,असोज १६ । जिल्लाको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइएको छ । विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तुलजा भवानीको मन्दिरमा ३ बजेको साइतमा फूलपाती भित्र्याइएको हो ।
विदुर नगरपालिकामा रहेको धोवीखोला नजिक रहेको सुल्डाँडाबाट शनिबार राति तान्त्रिक विधिद्वारा तयार पारिएको फूलपाती आइतबार ब्यान्ड बाजासहित बढाइँ गरेर भित्र्याइएको हो ।
शनिबार राति सुल्डाँडामा फूलपाती ल्याउन अर्याल थरका ब्राह्मण, क्षत्री थरका बस्नेत, मगर थरका उपासे छ जनाले उक्त फूलपाती अघिल्लो दिन राति केरा, अशोका, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दारिम्लगायत नौथरी वनस्पति पूजा गरी बलि दिएर बेलको रुखमुनि राख्ने चलन छ ।
फूलपाती लिन आइतबार साततले दरबारमा पूजा गरेर कलशसहित लावालस्कर बाटोमा बढाइँ गर्दै सुल्डाँडा गएका थिए । राजा पृथ्वीनारायण शाहको शासनकालपूर्वदेखि यहाँ फूलपाती भित्र्याइँदै आएको बताइन्छ ।

