डिजिटल दक्षिणा  : सांस्कृतिक परिवर्तनको खाँचो



काठमाडौं,असोज १७ । बडादशैं शुरू भएसँगै बैंक, वित्तीय संस्थामा नयाँ नोट साट्नेको भीड बढ्छ ।

नेपाल राष्ट्र बैंकले दशैंको पूर्वसन्ध्यामा बजारमा नयाँ र सफा नोट पठाउने तथा सर्वसाधारणले पनि चाडपर्वमा पूजाआजा र दक्षिणाका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलनका कारण बजारमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको माग उच्च छ । सर्वसाधारण बैंक तथा वित्तीय संस्थाका शाखाका साथै राष्ट्र बैंकका कार्यालयमा लामो लाइन बसेरै भए पनि नयाँ नोटका लागि तँछाडमडाड गरिरहेका हुन्छन् । 

यस वर्ष राष्ट्र बैंकले ८–१० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारीसहित सटही सुविधा दिएको छ । राष्ट्र बैंकमा पुग्ने सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँका नोटका एकरएक बन्डल गरी १८ हजार ५ सय रुपैयाँ सहटी गर्न पाए । बैंकहरूले भने आफूसँग उपलब्धताका आधारमा ग्राहकलाई नयाँ नोट उपलब्ध गराए । नोट साट्न राष्ट्र बैंकदेखि निजी बैंकहरूमा देखिएको भीडले अझै नोटप्रतिको विश्वास नघटेको देखाउँछ । 

नेपालीहरूमा नोटप्रतिको सांस्कृतिक विश्वास र प्रचलनमा परिवर्तन नआए पनि बजारमा भने ‘डिजिटल दक्षिणा’ को बहस शुरू भएको छ । राज्यले ठूलो रकम खर्चेर छपाइ गर्ने नोटको जथाभावी प्रयोगले यसको आयु घट्ने र यसबाट राज्यको अर्बौं सम्पत्ति खेर गइरहेको भन्दै पछिल्लो समय आम जनसमुदायबीच ‘डिजिटल दक्षिणा’को बहसले स्थान पाउन थालेको छ । नोट छपाइ तथा व्यवस्थापन गर्दै आएको राष्ट्र बैंकले सफा नोट नीति लागू गर्दै नोटमा केरमेट नगर्न, नभिजाउन, स्टीच नगर्न, पूजा नगर्न सचेतनाका कार्यक्रम गर्दै आएको छ ।

यसैगरी बैंक वित्तीय संस्थाका साथै डिजिटल कारोबार गर्ने मोबाइल वालेट कम्पनीहरूले केही वर्षदेखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ‘डिजिटल दक्षिणा’ अफरसमेत ल्याएका छन् । बैंकहरूले मन्दिरमा भेटी चढाउनसमेत क्यूआर कोड प्रयोग गर्न सकिने गरी सेवा शुरू गरिसकेका छन् । 

पैसाको प्रयोग विद्युतीय रूपमा गर्न सकिने गरी पर्याप्त पूर्वाधार विकाससँगै आर्थिक कारोबारमा विद्युतीय प्रयोग बढिरहेको छ । तर, अझै पनि नोटको प्रयोग सांस्कृतिक आस्था तथा परम्परासँग समेत जोडिएकाले सांस्कृतिक कार्यक्रममा भने यसको प्रयोग घट्न सकेको छैन । अहिलेसम्म ‘डिजिटल दक्षिणा’ सामाजिक सञ्जाल तथा बौद्धिक वर्गको बहसमा मात्र सीमित रहेको भन्दै यसको प्रयोग चलनचल्तीमा ल्याउन सांस्कृतिक परिवर्तनको खाँचो रहेको विज्ञहरू बताउँछन् । 

आईएमई ग्रूपका जनसम्पर्क प्रमुख राजु पौडेल नेपालमा नगदको प्रयोग धर्म संस्कृति र परम्परासँग जोडिएको र भगवान्लाई चढाउनदेखि, चाडपर्वमा टीकाटालो गर्दासमेत दक्षिणाका रूपमा नगद प्रयोग गर्ने प्रचलन भएकाले यो छिट्टै परिवर्तन नहुने बताउँछन् । ‘विस्तारै विद्युतीय रूपमा पनि दक्षिणा दिन सकिन्छ भन्ने विषयमा बहस शुरू भएको छ,’ उनले भने, ‘आजको भोलि नै परिवर्तन नभए पनि विस्तारै डिजिटल दक्षिणा प्रचलन आउँछ । यसका लागि सामूहिक पहल भइरहनुपर्छ ।’

केही समयअघि नबिल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक सञ्जालमार्फत राष्ट्र बैंकले गर्दै आएको नोट सटही बन्द गरी ‘डिजिटल दक्षिणा’ वर्षका रूपमा मनाउन प्रस्ताव गरेका थिए । ‘दशैं तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैंका लागि बन्द गरिनुपर्छ कि ⁄ ‘नोट’ लाई ‘खेलौना’का रूपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक स्पष्ट हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्