पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’
काठमाडौं,असोज १७ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धौलागिरिका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जिप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रो बसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपी शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरूलाई टाइम कार्ड लागू गरिएको जानकारी दिए ।
“यहाँबाट छुट्ने र पोखराबाट धौलागिरि क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उनले भने “तोकिएको समय भन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ ।”

